First Address to the Nation by Prime Minister Prachanda – Nepali

प्रचण्डको देशबासीका नामको सम्बोधनको पूर्णपाठ

August 23, 2008 (सम्वत् २०६५ साल भाद्र)

प्रिय नेपाली दिदीबहिनी तथा दाजुभाइहरू,

१. गणतन्त्र नेपालको जननिर्वाचित प्रधानमन्त्रीको हैसियतले तपाईंहरूलाई यो पहिलो सम्बोधन गर्न पाउदा असाध्यै गौरवान्वित भएको छु । यस अवसरमा सर्वप्रथम हाम्रो प्यारो देश नेपाललाई बाह्य रूपमा विविधखाले अर्धऔपनिवेशिक र नवऔपनिवेशिक उत्पीडन र आन्तररिक रूपमा सामन्ती राजतन्त्रात्मक शोषण उत्पीडनबाट मुक्त गरेर देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न अमूल्य योगदान गर्नहुने महान् जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनका सम्पूर्ण आदरणीय सहिदहरू, बेपत्ता पारिएकाहरू र घाइते योद्धाहरूलाई भावपूर्ण श्रद्धाञ्जली र उच्च सम्मान प्रकट गर्दछु । उहाँहरूको सपना पूर्णरूपले साकार नभएसम्म निरन्तर क्रान्ति र संघर्षको मार्गमा अघि बढिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु । साथै हालसालै पूर्वको कोसीलगायत देशका विभिन्न भागमा बाढी र प्राकृतिक प्रकोपबाट जनधनको ठूलो क्षति भएकोमा गहिरो दुःख प्रकट गर्दछु र पीडित जनसमुदायप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।

२. आज नेपाली इतिहासले कोल्टे फेरेको छ । महान् नेपाली जनताको पचासौँ वर्षदेखिको सशस्त्र र शान्तिपूर्ण संघर्षको फलस्वरूप देशमा मध्ययुगीन सामन्ती राजतन्त्रको अन्त्य भएको छ र निरन्तर मौलिक ढंगले देशमा गणतन्त्र स्थापना भएको छ । साथसाथै राज्यको एकात्मक ढाँचाको अन्त्य गरी राज्यलाई संघात्मक ढाँचामा पुनर्संरचना गर्ने युगान्तकारी निर्णय भएको छ । विभिन्न उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग र समुदायले राज्य र समाजका सबै अंगहरूमा समानुपातिक समावेसी हिस्सेदारीको हक प्राप्त गरेका छन् । केही समयपहिले सम्पन्न नेपाली इतिहासको पहिलो संविधानसभा निर्वाचनमार्फत नेपाली जनताले नयाँ नेपाल निर्माणनिम्ति नयाँ विचार र नयाँ नेतृत्वको छनोट गरिसकेका छन् । यसअघि राष्ट्रियता, गणतन्त्र र आर्थिक सामाजिक रूपान्तरणको कार्यसूचीसहित ऐतिहासिक दसवर्षे जनयुद्धको नेतृत्व गरिरहेको नेकपा (माओवादी) र तत्कालीन नेपाल सरकारका बीच सम्पन्न बृहद् शान्ति-सम्झौता र त्यसको सफल कार्यान्वयनले नेपालमा द्वन्द्व व्यवस्थापन र क्रान्तिकारी रूपान्तरणको नयाँ मोडेल स्थापित भएको छ । यसमा सबै स्वाभिमानी नेपालीले गर्व गर्नैपर्दछ । अग्रगामी परिवर्तनसहितको दिगो शान्तिको नेपाली जनताको चाहनालाई मूर्तरूप दिन हामी सबैले आ-आफ्नो क्षेत्रबाट अझै बढी जिम्मेवारीबोधका साथ लागिपर्नु जरुरी छ । युगान्तकारी राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तनका लागि दसौं हजार होनहार योद्धाहरूको बलिदान गर्न पछि नपर्ने राजनीतिक शक्तिका नाताले आगामी दिन देशमा न्यायपूर्ण शान्ति र परिवर्तनका लागि पनि हामीले त्यत्तिकै जिम्मेवारीबोधका साथ निर्वाह गर्नेछौँ भन्ने सार्वजनिक प्रतिबद्धता म यस ऐतिहासिक अवसरमा व्यक्त गर्न चाहन्छु । निरन्तरतामा क्रमभंगता र क्रमभंगतासहितको निरन्तरताको संयोजनबाट नै हामीले नेपाली समाजको अग्रगमनको नयाँबाटो निर्माण गर्नुछ । आगामी दिनमा नयाँ ढंगको यथास्थितिवाद र अग्रगमनको बीचको द्वन्द्वलाई पनि हामीले आफ्नै मौलिकतासहित व्यवस्थापन गर्दै दिगो शान्ति कायम गर्न हामी सफल हुनेछौँ भन्ने आशा तथा विश्वास व्यक्त गर्न चाहन्छु । देशमा युगौँदेखि व्याप्त जातीय, क्षेत्रीय, लैँगिक विभेद र शोषण उत्पीडनहरूलाई अन्त्य गरेर देशलाई एक्काइसौँ शताब्दीअनुकूल समुन्नत र समानताको शिखरमा पुर्‍याएर नै द्वन्द्वको समस्या समाधान हुनेछ भन्ने तथ्यप्रति म सबैको ध्यानकर्षण गराउन चाहन्छु ।

३. गणतान्त्रिक नेपालको पहिलो जननिर्वाचित सरकारबाट देश र जनताका अपेक्षा निश्चित रूपमा धेरै छन् । ती अपेक्षाहरूलाई हामीले वस्तुनिष्ठ ढंगले र योजनाबद्ध तरिकाले पूरा गर्ने प्रयत्न गर्नै पर्दछ । त्यस सन्दर्भमा सरकार प्रमुखको हैसियतले केही राष्ट्रिय प्राथमिकतालाई म यहाँ उल्लेख गर्न चाहन्छु । सर्वप्रथम, हामीले नेपालको सार्वभौमिकता, राष्ट्रिय एकता, स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा र सम्बर्धनलाई सर्वाधिक महत्त्व दिनै पर्दछ । नेपाल नै नरहे नेपाली पनि रहन सक्दैनन् र गणतन्त्रको पनि औचित्य रहन्न । विभिन्न वर्ग, जाति, वर्ग, लिंग र समुदायमा विभाजित नेपाली जनतालाई पूर्णरूपले सार्वभौम, समान र समुन्नत नबनाई राष्ट्रिय एकता कायम गर्न पनि सकिन्न । त्यस अर्थमा राष्ट्रियता र जनतन्त्र वा गणतन्त्र एक अर्कासँग घनिष्ठरूपले अन्तरसम्बन्धित र अविभाज्य छन् । तिनको सही सन्तुलन कायम गरेर देशको सार्वभौमिकता र स्वाधीनताको रक्षा गर्न सर्वाधिक जोड दिइने छ । साथै हिमाल, पहाड, तराई, मधेसलगायत विभिन्न क्षेत्रमा रहने जाति/जनजातिहरूबीच पूर्ण समानताका आधारमा नयाँ राष्ट्रिय एकता कायम गरेर देशको सार्वभौमिकता, स्वाधीनता र अखण्डताको रक्षा गर्ने नीति अनुसरण गरिनेछ । त्यसरी नै पञ्चशीलका सिद्धान्तका आधारमा छिमेकी मुलुकहरूसहित सबैसँग मैत्रीपूर्ण सम्बन्ध कायम गरिनेछ ।

दोस्रो कुरा, आधुनिक युगसुहाउँदो लोकतान्त्रिक मूल्य-मान्यता र सिद्धान्तप्रति हाम्रो पूर्ण प्रतिबद्धता रहनेछ । बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, मानवअधिकार, प्रेस स्वतन्त्रता, विधिको शासन आदि लोकतान्त्रिक पद्धति र मान्यताहरूको अनुसरण गरिनेछ । लोकतान्त्रिक मूल्य र मान्यतामाथि कुनै पनि प्रकारका अतिक्रमणलाई निरुत्साहित गरिनेछ । साथै लोकतन्त्रलाई मुठ्ठीभर हुनेखाने र टाठाबाठारूको औपचारिक लोकतन्त्रमा मात्र सीमित राख्ने प्रवृतिका विरुद्ध लोकतन्त्रलाई बहुसंख्यक श्रमिक जनताको वास्तविक लोकतन्त्रमा विस्तारित गर्न विशेष जोड दिइनेछ । यसरी नै ‘निरन्तर सजकता स्वतन्त्रताको मूल्य हो’ भन्ने भनाइअनुरूप लोकतन्त्र र स्वतन्त्रतालाई व्यापक दिगो बनाउन आमजनसमुदाय र नागरिक समाजको निरन्तर निगरानी, सहभागिता र हस्तक्षेप राज्य र समाजका हरेक अंगमा सुनिश्चित गर्ने विधिहरूको खोजी गरिनेछ । गाउँका कुनाकाप्चाका निमुखा र गरिबहरूले समेत लोकतन्त्रको सच्चा अनुभूति गर्न सकुन् भन्ने कुरामा विशेष ध्यान दिइनेछ ।

तेस्रो कुरा, देशमा व्याप्त गरिबी, बेरोजगारी, असमानता र पराधीनताको अन्त्य गर्दै देशलाई छिटोभन्दा छिटो अवधिमा आर्थिक-सामाजिक रूपले समुन्नत बनाउने कुरामा राज्यको मुख्य ध्यान केन्दि्रत गरिनेछ । राजनीतिक र आर्थिक क्रान्तिलाई साथसाथै अघि बढाएर मात्र दिगो शान्ति कायम गर्न सकिन्छ भन्ने मान्यतालाई दह्रोसँग आत्मसात गरिनेछ । सर्वप्रथम आर्थिक-सामाजिक र सांस्कृतिक क्षेत्रमा विद्यमान सामन्तवादका सबै अवशेषहरूको अन्त्य र आधुनिक औद्योगिक अर्थतन्त्रको निर्माणमा मुख्य जोड दिइनेछ ।

त्यसका निम्ति आवश्यक नीति-निर्माण र कार्यान्वयनमा ध्यान दिइनेछ । अर्थतन्त्रको विकासमा राज्य, सहकारी र निजी क्षेत्रको समन्वयकारी भूमिका र सार्वजनिक-निजी साझेदारीको मोडेललाई मुख्य नीतिको रूपमा अनुसरण गरिनेछ । राष्ट्रिय प्राथमिकता अनुकूलका क्षेत्रमा विदेशी लगानीलाई प्रोत्साहन र संरक्षण गरिनेछ । कृषि, पर्यटन, जलस्रोत, पूर्वाधार विकासलाई मुख्य प्राथमिकताको क्षेत्र तोकेर अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना निर्माण गरी कार्यान्वयन गरिनेछ । बेरोजगारीको अन्त्य गर्न र अत्यावश्यक वस्तु सर्वसुलभ ढंगले सुपथ मूल्यमा उपलब्ध गराउन विशेष ध्यान दिइनेछ । मजदुर र व्यवस्थापनबीच सुमधुर सम्बन्ध विकास गर्न र औद्योगिक शान्ति कायम गर्न विशेष जोड दिइनेछ । शिक्षा, स्वास्थ्य र रोजगारीमा सबै जनताको मौलिक अधिकार कायम गर्न आवश्यक कानुनी व्यवस्था गरिनेछ । विपन्न वर्ग र पिछडिएका क्षेत्रका जनता तथा असहाय, वृद्ध, अपांगलाई तत्काल राहत र विशेष सहयोग उपलब्ध गराउने कुरामा ध्यान दिइनेछ । राज्य, अर्थतन्त्र र समाजका हरेक क्षेत्रमा फैलिएको भ्रष्टाचारको क्यान्सर निर्मूल गर्न शिघ्रातिशिघ्र प्रभावकारी कदम चालिनेछ । समग्रमा बहुसंख्यक जनताले प्रत्यक्ष राहत महसुस गर्ने र परिवर्तनको अनुभूति गर्ने ढंगले नीति र योजना कार्यान्वयन गर्न मुख्य जोड दिइनेछ । यसरी राष्ट्रियता, जनतन्त्र -गणतन्त्र) र आर्थिक-सामाजिक रूपान्तरणको मुद्दा नयाँ सरकारको क्षेत्र हुनेछ ।

४. शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने र निर्धारित समयमा नयाँ अग्रगामी जनमुखी संविधानको निर्माण गर्नु नयाँ सरकारको मुख्य कार्यभार हो । यी दुई कुरालाई अर्जुन दृष्टि मानेर नयाँ सरकारले काम गर्ने प्रतिबद्धता पनि म यस सन्दर्भमा व्यक्त गर्न चाहन्छु । परन्तु यी कार्यभार चुनौतीरहित छैनन् । हामीसँग एकातिर सम्भावनाको विशाल संसार छ भने अर्कोतिर चुनौतीको ठूलो पहाड पनि छ । यसनिम्ति सम्पूर्ण देशभक्त, गणतन्त्रवादी र अग्रगामी राजनीतिक शक्तिहरू, सेना, प्रहरी, प्रशासनलगायत राज्यका विभिन्न निकायका अधिकारीहरू, अन्तर्राष्ट्रिय संस्थाहरू र आमसमुदायको सहयोग र समर्थन अत्यन्त जरुरी छ । अन्ततः इतिहासका निर्माता जनता हुन् र जनताको सहयोग र समर्थन प्राप्त भएमा यस संसारमा असम्भव भन्ने कुरो केही छैन । त्यसैले यस ऐतिहासिक अवसरमा नयाँ नेपालको निर्माणको अभियानमा हरतरहले साथ दिन म सबैसँग विनम्र आग्रह गर्दछु । सर्वप्रथम, नयाँ नेपाल निर्माण कार्य कुनै एक दल, संस्था वा व्यक्तिको प्रयासबाट मात्र सम्भव हुने कुरा होइन, यसका लागि राष्ट्रिय सहमति आजको आवश्यकता हो । विगतमा सरकारले विभिन्न संघसंस्थाहरूसँग गरेको सम्झौता तथा समझदारीको कार्यान्वयनप्रति सरकार पूर्ण प्रतिबद्ध छ । म देशका प्रमुख शक्तिहरूलाई इतिहासको यस विशिष्ट घडीमा संकीर्ण दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रियताको सम्बर्धन गर्दै नयाँ नेपाल निर्माण गर्ने कार्यमा नयाँ सरकारलाई साथ दिन आग्रह गर्दछु । त्यसरी नै म प्रमुख अन्तर्राष्ट्रिय समुदाय र मुख्यतः छिमेकी देशहरूलाई ऐतिहासिक संक्रमण कालबाट गुजि्ररहेको नेपाललाई नैतिक, भौतिकलगायत हरतरहले साथ दिन आग्रह गर्दछु । आप\mनो तर्फबाट यस अवसरमा कसैप्रति पनि पूर्वाग्रह नराखी नयाँ ढंगले अघि बढाउन सहज वातावरण निर्माण गरिने विश्वास पनि दिलाउन चाहन्छु । म निजामती सेवालगायत सबै सरकारी र गैरसरकारी निकायहरूका कर्मचारीहरूलाई कुनै पूर्वाग्रह र द्वेष नराखी नयाँ सरकारलाई हरतरहले साथ दिन आग्रह गर्दछु । म निजी क्षेत्रका उद्यमी, व्यापारी, व्यवसायी, पेसाकर्मीलगायत सबैलाई नयाँ सरकारले दिगो शान्ति र लगानीको उचित वातावरण निर्माण गर्ने विश्वास दिलाउदै सरकारलाई पूर्णरूपले साथ दिन अनुरोध गर्दछु ।

म सम्पूर्ण सञ्चारकर्मीहरू, नागरिक आन्दोलनकारीहरू र आमजनसमुदायलाई नयाँ गणतान्त्रिक युगसँगै नयाँ समुन्नत नेपाल निर्माणको अभियानमा नयाँ सरकारलाई आ-आप\mनो तर्फबाट साथ दिन विशेष अपिल गर्दछु । म सम्पूर्ण जनमुक्ति सेनाका योद्धाहरू, जनयुद्धका महान् सहिदका परिवारजनहरू, बेपत्ता परिवारजनहरू र घाइते योद्धाहरूलाई नयाँ सरकारले यथाशक्य छिटो उहाँहरूका लागि उपलब्ध गराउनुपर्ने सहयोग राशि र राहत उपलब्ध गराउनेछ भन्ने विश्वास दिलाउँदै उहाँहरूबाट सदाभाब सहयोग र समर्थनको अपेक्षा गर्दछु । अन्त्यमा, संविधानसभाको निर्वाचनमार्फत नेपाली जनताले दिएको जनादेश र संविधानसभाबाट प्राप्त समर्थन र सहयोगप्रति म हार्दिक आभार पनि प्रकट गर्न चाहन्छु । नेपाली जनताले सुम्पेको यस अभिभारालाई पूरा गर्ने प्रतिबद्धता यस अवसरमा दोहोर्‍याउन चाहन्छु । (जनताका नाममा गरिएको पहिलो सम्बोधन)

Leave a Reply